मानव बेचबिखनमा संलग्न सात जना पक्राउ



महोत्तरी, फागुन २९ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतीय नागरिकसहित सात जनालाई नेपाल–भारत सीमावर्ती भिठामोड नाकाबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी निरीक्षक विश्वम्भरनाथ साहका अनुसार सूचनाको आधारमा जलेश्वर नगरपालिका–३ मलिवारा स्थित नेपाल–भारत भिठामोड सीमा क्षेत्रमा निगरानी बढाउँदा चार जना भारतीय नागरिक एक नेपाली महिलासहित पक्राउ परेका थिए। उनीहरूले नेपाली महिलालाई विवाहको प्रलोभन देखाएर भारततर्फ लैजान खोजेको आरोप छ।

पक्राउ पर्ने भारतीय नागरिकहरूमा भारत गुजरातका ३६ वर्षीय सदिक बाक्सु भुर्च, ५६ वर्षीय हसम अब्दुला पटेलिया, २८ वर्षीय किसन भगवानभाई गढिया र २८ वर्षीय सुनिल भगवानभाई गढिया रहेका छन्।

यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पनि पक्राउ गरेको छ। तीमध्ये एक जना पीडितको नक्कली आमाको भूमिका निभाउने ५० वर्षीया महिला (धनुषा, मिथिलाबिहारी नगरपालिका), बहिनीको भूमिका निभाउने १८ वर्षीया युवती (भंगहा नगरपालिका) र नेपालतर्फको मुख्य योजनाकार भंगहा नगरपालिका–८ का नुरि बाबा उर्फ नु अली रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका महिलाहरूको नाम भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार आरोपितहरूले विवाहको बहाना बनाएर महिलालाई ललाइफकाइ भारत लैजाने प्रयास गरेका थिए। सातै जनालाई अदालतमा पेश गरी म्याद थप गरिएको छ र घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार १६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको