वन अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो



रौतहट, फागुन २९ । डिभिजन वन कार्यालय रौतहटले वन अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको छ। चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएर वन क्षेत्र खाली गराइएको हो।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रंगपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले बिहीबार उक्त अभियान सञ्चालन गरेको थियो। टोलीले वन क्षेत्रमा निर्माण गरिएका ६ वटा अवैध घर तथा छाप्रा भत्काएर अतिक्रमण हटाएको जनाएको छ।

प्रमुख साहका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा सरकारी कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको अवसर पारेर केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरेको पाइएको थियो। त्यसपछि वन क्षेत्र संरक्षणका लागि ती संरचना हटाइएको हो।

उनका अनुसार जिल्लाका अन्य स्थानमा रहेका अतिक्रमित वन क्षेत्र खाली गराउन पनि कार्यालय सक्रिय रूपमा लागिरहेको छ। वन क्षेत्रको संरक्षण तथा अवैध अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखेर आवश्यक कदम चालिएको उनले बताए।

डिभिजन वन कार्यालयले वन क्षेत्रमा अवैध रूपमा घर तथा संरचना निर्माण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वन संरक्षण सबैको साझा जिम्मेवारी भएकाले नियम–कानुनको पालना गर्न पनि कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन २९, शुक्रबार १६:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको