एजेन्सी, चैत १। मध्यपूर्वमा बढ्दो तनावका बीच तेल तथा ग्यास बोकेका दुई भारतीय जहाजले होर्मुज स्ट्रेट सफलतापूर्वक पार गरेका छन्।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रंधिर जयसवालले शनिबार जानकारी दिँदै ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका जहाज स्ट्रेट पार गरी भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताएका हुन्।
उनका अनुसार ती दुवै जहाजमा करिब ९३ हजार मेट्रिक टनभन्दा बढी तरल पेट्रोलियम ग्यास ९एलपीजी० लोड गरिएको छ। खाडी क्षेत्रमा रहेका भारतका अन्य जहाजहरूलाई पनि आवश्यक परेमा प्रयोग गर्न मिल्ने गरी स्ट्यान्डबाइ अवस्थामा राखिएको उनले बताए। भारतले आफ्नो ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
यसअघि इन्धन बोकेर भारत आउँदै गरेको एक थाई जहाजमा हमला भएको थियो। हालसम्म मध्यपूर्वमा बढ्दो तनावका कारण ५ भारतीय नागरिकको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेको भारतीय अधिकारीहरूले बताएका छन्।
खाडी क्षेत्रबाट हुने इन्धन आपूर्ति प्रभावित हुँदा भारतमा पनि तेल र ग्यासको अभाव देखिएको छ। भारतबाट इन्धन आयात गर्ने नेपालमा समेत आपूर्ति प्रभावित हुने संकेत देखिएको छ।






