काठमाडौं , चैत १। इरान–अमेरिका तनावका बीच सामाजिक सञ्जाल विशेषगरी एक्स (ट्विटर)मा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएका नक्कली तस्बिर र भिडियो तीव्र रूपमा फैलिन थालेका छन्। गलत सूचना नियन्त्रण गर्न प्लेटफर्मले नयाँ नीति घोषणा गरे पनि भ्रामक सामग्रीको प्रसार भने अझै रोकिएको छैन।
अनुसन्धानकर्ताहरूका अनुसार मध्यपूर्वमा तनाव बढेपछि एआईबाट तयार गरिएका दृश्य सामग्रीहरूको बाढी नै आएको छ। अघिल्ला द्वन्द्वका समयमा भन्दा अहिले धेरै ठूलो परिमाणमा यस्ता सामग्री सामाजिक सञ्जालमा फैलिरहेका छन्, जसले प्रयोगकर्तालाई वास्तविक र बनावटी सामग्री छुट्याउन झनै कठिन बनाएको छ।
युद्धसम्बन्धी सूचना विश्वसनीय राख्ने प्रयासस्वरूप एक्सले गत साता नयाँ नीति घोषणा गरेको थियो। उक्त नीतिअनुसार एआईबाट बनाइएको तस्बिर वा भिडियो पोस्ट गर्दा स्पष्ट रूपमा त्यसबारे उल्लेख नगरेमा सामग्री पोस्ट गर्ने व्यक्तिलाई प्लेटफर्मको आम्दानी साझेदारी कार्यक्रममा ९० दिनका लागि निलम्बन गरिने व्यवस्था गरिएको छ। नियम बारम्बार उल्लङ्घन गरे स्थायी प्रतिबन्धसमेत लगाइने चेतावनी दिइएको छ।
यद्यपि, अनुसन्धानकर्ताहरूले यो नीति लागू भए पनि भ्रामक सामग्री फैलिन रोक्न पर्याप्त नभएको बताएका छन्। रणनीतिक संवादसम्बन्धी एक अनुसन्धान संस्थाका अनुसन्धानकर्ता जोय बोडनर का अनुसार उनले निगरानी गर्ने सामाजिक सञ्जाल पोस्टहरूमा अझै पनि एआईबाट बनाइएका युद्धसम्बन्धी तस्बिर र भिडियोहरू व्यापक रूपमा देखिएका छन्।
उनका अनुसार केही प्रिमियम खाताहरूबाट समेत भ्रामक सामग्री फैलिएको छ। तीमध्ये एक खाताले इजरायल माथि इरानले कथित रूपमा ‘आणविक क्षमतायुक्त’ आक्रमण गरेको देखाउने कृत्रिम भिडियो पोस्ट गरेको थियो, जुन प्लेटफर्मको नीति घोषणासम्बन्धी सन्देशभन्दा पनि धेरै पटक हेरिएको थियो।
समाचार एजेन्सी एएफपीको विश्वव्यापी तथ्य–जाँच सञ्जालले ब्राजिल देखी भारत सम्म विभिन्न देशहरूमा फैलिएका यस्ता नक्कली युद्धसम्बन्धी सामग्री पहिचान गरेको जनाएको छ। तीमध्ये केही भिडियोहरूले बम विस्फोट भएको दूतावासभित्र रोइरहेका अमेरिकी सैनिक, इरानी झण्डाको छेउमा घुँडा टेकाइएका अमेरिकी सेना वा अमेरिकी नौसैनिक जहाज नष्ट भएको दृश्य देखाए पनि ती सबै सामग्री कृत्रिम रूपमा तयार पारिएका हुन्।
यस्ता सामग्री वास्तविक तस्बिर र भिडियोसँग मिसिएर फैलिँदा तथ्य–जाँचकर्ताहरूलाई समेत छिटो पहिचान गर्न कठिन हुने बताइएको छ। साथै उक्त सामाजिक सञ्जालको आफ्नै एआई संवाद प्रणालीले पनि कहिलेकाहीँ प्रयोगकर्तालाई भ्रामक जानकारी दिएको देखिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार प्लेटफर्मको आम्दानी प्रणालीले पनि यस्तो सामग्री फैलिन प्रोत्साहन दिएको हुन सक्छ। प्रिमियम खाताले दर्शक र सहभागिताका आधारमा आम्दानी पाउने भएकाले सनसनीपूर्ण वा भ्रामक सामग्री पोस्ट गर्दा आर्थिक लाभ हुने सम्भावना बढ्छ।
उदाहरणका रूपमा एक प्रिमियम खाताले बुर्ज खलिफा सँग सम्बन्धित कृत्रिम भिडियो पोस्ट गरेको थियो, जसलाई कृत्रिम सामग्री भएको भनेर उल्लेख गरिएको थिएन। उक्त भिडियो करिब २० लाख पटक हेरिएको बताइएको छ।
विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जाल कम्पनीले घोषणा गरेका नीति सैद्धान्तिक रूपमा गलत सूचना नियन्त्रण गर्ने प्रयास भए पनि यसको प्रभावकारीता कार्यान्वयनमा निर्भर रहनेछ। कृत्रिम सामग्रीमा रहेका डिजिटल संकेतहरू सजिलै हटाउन सकिने भएकाले यस्ता सामग्री पहिचान गर्न झन् चुनौतीपूर्ण हुने उनीहरूको चेतावनी छ।
विज्ञहरूका अनुसार युद्धजस्ता संवेदनशील परिस्थितिमा फैलिने एआईबाट बनेका नक्कली सामग्री रोक्न अझ प्रभावकारी उपाय आवश्यक छ।






