सप्तरी, बैशाख १० । सरकारी विज्ञापन नीति बिरुद्ध पत्रकार महासंघ सप्तरीले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
शाखा सप्तरीका सभापति श्रवण देव, केन्द्रिय सदस्य ललिता साह, प्रदेश उपाध्यक्ष अम्बिका दाहालसहित बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेको संचारकर्मीको टोलीले सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
विज्ञापन क्षेत्रमा देखिएका वेथिति नियन्त्रण गर्ने सरकारी प्रयास सकारात्मक भएपनि सोही नाममा सरकारी विज्ञापनलाई सरकारी संचारमाध्यममा मात्र सीमित गर्नु संविधान, कानुन, अन्तराष्ट्रिय मुल्य मान्यता तथा संघीयताको मर्म विपरीत र आपत्तिजनक रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै ज्ञापनपत्रमा उक्त निर्णय प्रेस स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा नागरिकको मौलिक हक अन्तरगत सूचना र संचार हकको विपरीत भएको भन्दै अविलम्ब खारेज गर्नु पर्ने माग समेत गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ टुवराज पोखरेलले तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी गराएका थिए ।






