काठमाडौँ , असोज ५। काठमाडौँको त्रिपुरेश्वर चोकस्थित बस स्टपअगाडि चालकले नै बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
सोमबार बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागी हुँदा बसका चालक बसभित्रै रहेको र बाहिर ननिस्किएको पाइएपछि प्रहरीले चालकबाटै आगजनी भएको हुनसक्ने आशंका गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले घटनाको विस्तृत अनुसन्धान भइरहेको र अहिलेसम्मको अनुसन्धानबाट चालकले नै आगजनी गरेको देखिएको बताए। आगलागीको वास्तविक कारण भने थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्। आगलागी हुँदा बसभित्र रहेका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ।
प्रारम्भिक अनुसन्धानमा ट्राफिक प्रहरीसँग भएको विवादपछि चालकले बसमा आगो लगाएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि यसबारे प्रहरीले औपचारिक रूपमा कारण पुष्टि गरिसकेको छैन।
बसमा लागेको आगो सशस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।






