जनकपुरधाम, चैत २ । मध्यपूर्वमा जारी तनावकाबीच फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेशिएका छन्।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन महिनामा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) लिएका छन्। तीमध्ये ४६ हजार ४ सय ५२ जना पुरुष र ६ हजार ३ सय ९२ जना महिला रहेका छन्।
तथ्यांक अनुसार फागुन महिनामा पहिलो पटक २८ हजार ३ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् भने २४ हजार ५ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
मध्यपूर्वमा इरान, अमेरिका र इजरायल बीच बढ्दो द्वन्द्वका कारण सरकारले खाडी क्षेत्र तथा अन्य केही देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गरेको छ। श्रम मन्त्रालयको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्म साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल मा श्रम स्वीकृति रोकिएको छ।
फागुन महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन्। त्यहाँ १२ हजार ६०१ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि यूएई मा ११ हजार ४ सय ९२, कतार मा ६ हजार ७ सय ७५ र साउदी अरेबिया मा ६ हजार २ सय २५ जना रोजगारीका लागि गएका छन्।
यसअघि माघ महिनामा ७० हजार ५ सय ३ जना, पुसमा ६२ हजार ५ सय ५९ जना र मंसिरमा ६५ हजार ७ सय ५ जना नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।






