काठमाडाँ, चैत २ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डला मा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।
जेनजी आन्दोलनमा सहभागी युवाहरूले ‘प्रतिवेदन खै?’, ‘सत्यतथ्य बाहिर ल्याऊ’ र ‘जेनजीको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विरोध जनाउने क्रममा केही युवाहरूले आँखामा कालोपट्टी बाँधेर प्रतीकात्मक प्रदर्शन गरेका थिए।
यसअघि जेनजी समूहले विभिन्न माग राख्दै गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की को संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको बताइए पनि हालसम्म सार्वजनिक नगरिएको भन्दै प्रदर्शनकारीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न तथा युवाहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।






