कैलाली, चैत २ । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पत्रका आधारमा भट्टलाई पक्राउ गरिएको हो। कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्टलाई साइबर अपराधसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएपछि सोही आधारमा भट्टलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
केही दिनअघि सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूबाट ५ लाख रुपैयाँ घुस मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर सरुवा गरिएको आरोप लगाएका थिए।
अन्तर्वार्तापछि दीर्घनारायण कोइराला ले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै २४ घण्टे स्पष्टीकरण मागेका थिए। मन्त्रालयले उक्त अभिव्यक्तिलाई निराधार र चरित्रहत्या गर्ने उद्देश्यले दिएको भन्दै आपत्ति जनाएको थियो।
यसैबीच उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्दै भट्टमाथि कारबाहीको माग गरेका थिए।






