रौतहट, चैत ४ । केरा खेतीको बिमा व्यवस्था नहुँदा रौतहट जिल्लाका किसानहरू ठूलो आर्थिक संकटमा परेका छन्। हालै आएको भीषण हावाहुरीले विशेष गरी चन्द्रपुर नगर क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।
सोमबार साँझ आएको हावाहुरीका कारण चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट भएको छ। चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वडा नं ३ को गैँडाटार र वडा नं ४ को चन्द्रनिगाहपुरलगायत क्षेत्रका किसानहरू प्रभावित भएका छन्।
गैँडाटार क्षेत्र केरा उत्पादनको प्रमुख केन्द्रका रूपमा चिनिन्छ, जहाँ अधिकांश किसान व्यावसायिक रूपमा केरा खेतीमा निर्भर छन्। हावाहुरीका कारण हजारौँ केरा बोट ढल्दा किसानको वर्षभरिको मेहनत एकैपटक नष्ट भएको स्थानीय कृषक दिपक गौतमले बताए ।
किसानहरूका अनुसार बर्सेनि हावाहुरी, रोग तथा जङ्गली जनावरको आक्रमणका कारण केरा खेतीमा क्षति हुने गरे पनि बिमा नहुँदा सबै जोखिम उनीहरूले आफैं बेहोर्नुपरेको छ। केरा खेतीको बिमा व्यवस्था गर्न स्थानीय तह र बिमा कम्पनीसँग पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिएको छ।
चन्द्रपुर–३ कै अर्का किसान रमेश घिमिरेले बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताउनुभयो। बिमा कम्पनीहरूले जोखिम बढी देखाउँदै केरा खेतीको बिमा गर्न आनाकानी गर्दै आएको उनको भनाइ छ।
रौतहट जिल्लामा करिब चार सय बिघाभन्दा बढी जमिनमा केरा खेती गरिएको अनुमान छ भने हालको हावाहुरीबाट मात्रै तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ।
यस विषयमा संजय कुमार काफ्ले कृषकको बाली बिमा सुनिश्चित गर्न नगरपालिका सहयोग गर्न तयार रहेको बताए । उनले बिमा व्यवस्था अहिलेको आवश्यकताअनुसार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।






