एमाले सुदूरपश्चिममा चर्कियो विवाद, संसदीय दलको नेता फेर्ने चर्चा



धनगढी, चैत ९ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा आन्तरिक विवाद चुलिँदै गएको छ। राजनीतिक नियुक्तिको विषयमा देखिएको असन्तुष्टि अहिले संसदीय दलको नेता परिवर्तनसम्म पुग्ने संकेत देखिएको छ।

संसदीय दलका नेता राजेन्द्र सिंह रावल माथि पार्टीसँग परामर्श नगरी एकलौटी रूपमा नियुक्ति गरेको आरोप लागेको छ। प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी ले विभिन्न सरकारी निकायमा नियुक्ति गर्दा पार्टी संरचनालाई बेवास्ता गरिएको भन्दै केन्द्रको ध्यानाकर्षण गराइएको जानकारी दिएका छन्।

उनका अनुसार रावलले अस्पताल व्यवस्थापन समिति लगायतका पदहरूमा सिफारिस गर्दा पार्टीसँग कुनै समन्वय नगरेको आरोप छ।

यता, रावलमाथि सम्पर्कविहीन भएको आरोप पनि लागेको छ। यही विषयलाई लिएर राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरको कृष्णपुर नगर कमिटीले संसदीय दलको कार्यालयमा तालाबन्दी समेत गरेको छ।

तालाबन्दीमा सहभागी युवाहरूले रावलले एकलौटी नियुक्ति गरेको, निर्वाचनमा असहयोग गर्ने व्यक्तिलाई अवसर दिएको तथा पटक–पटक सम्पर्क गर्दा पनि बेवास्ता गरेको आरोप लगाएका छन्।

तर, रावलले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले हालसम्म पार्टीको भागमा परेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा मात्र नियुक्ति गरिएको र ती सबै निर्णय पार्टीकै परामर्शमा भएको दाबी गरेका छन्।

स्वास्थ्य समस्याका कारण केही समय नेताहरूसँग सम्पर्कमा रहन नसकेको उनले स्पष्ट पारे। साथै खप्तड पर्यटन विकास समितिको अध्यक्षमा जमुना चन्दलाई सिफारिस गर्नु विवाद बनाइएकोप्रति उनले आपत्ति जनाए।

‘महिलालाई नेतृत्वमा ल्याउने प्रयास गर्नु गल्ती होइन,’ उनले भने, ‘हरेक निर्णय प्रदेश अध्यक्षले भनेकै अनुसार मात्रै गर्नुपर्ने भन्ने हुँदैन।’

यता, रावलको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै जाँदा संसदीय दलको नेतृत्व परिवर्तनको बहस समेत सुरु भएको छ। स्रोतका अनुसार केही सांसदहरू नयाँ नेतृत्व खोज्नुपर्ने पक्षमा देखिएका छन् भने पार्टी केन्द्रको निर्देशनको प्रतीक्षा भइरहेको छ।

तीन नेताको दाबी

हाल एमाले सुदूरपश्चिम प्रदेश सभामा ११ सांसद छन्। दलका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल र सामाजिक विकास समिति सभापति धर्मराज पाठकले नेतृत्वमा दाबी गरेका छन्।

थापाले उपनेता भएकाले आफ्नो दाबी स्वाभाविक भएको बताएका छन् भने मल्ल र पाठकले पनि आ–आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

पार्टीभित्र बढ्दो विवादबीच अब नेतृत्व परिवर्तन हुन्छ वा वर्तमान नेतृत्व नै कायम रहन्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रकाशित मिति: २०८२ चैत्र ९, सोमबार ०७:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको