जलेश्वर कारागारबाट फरार कैदी सीमा क्षेत्रबाट पक्राउ



महोत्तरी, चैत १० । जलेश्वर कारागारबाट फरार भएका एक भारतीय कैदीलाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ। गत भदौ २४ गते कारागार तोडफोड गरी फरार भएका भारतका नागरिक सब्दुल नदाफलाई सोमबार सीमावर्ती क्षेत्रमा नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार भारतको सीतामढी जिल्ला अन्तर्गत पर्ने बेला थाना क्षेत्रको बेताहा गाउँका नदाफलाई नेपाल–भारत सीमासँग जोडिएको सम्सी गाउँपालिका नजिकबाट पक्राउ गरिएको हो।



कारागार प्रमुख अशोककुमार क्षेत्री का अनुसार नदाफ चोरी तथा डाँका मुद्दामा महोत्तरी जिल्ला अदालत को आदेशमा २०८१ वैशाख ३ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। भदौ २४ गते देशमा उत्पन्न असहज परिस्थितिको मौका पारेर उनले अन्य कैदीसँगै जेलब्रेक गरी फरार भएका थिए।

उक्त घटनामा ४१ भारतीयसहित ५७३ जना कैदी फरार भएका थिए। प्रशासनको आह्वानपछि हालसम्म १० भारतीयसहित ३०९ जना कैदी पुनः सम्पर्कमा आइसकेका छन्। तीमध्ये केही स्वेच्छाले फर्किएका छन् भने केहीलाई पक्राउ गरेर ल्याइएको छ।

कारागार प्रशासनका अनुसार हालसम्म ३१ भारतीय र २२३ नेपाली गरी कुल २५४ जना कैदी अझै फरार रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख हेरम्ब शर्मा ले फरार कैदीहरूको विवरण सबै प्रहरी इकाइहरूमा पठाएर खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिएका छन्। साथै फरार कैदीलाई लुकाउने वा सहयोग गर्ने व्यक्तिलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ।

नेपाल–भारत सीमा क्षेत्रमा लुकेर बसेका कैदीहरूको खोजीका लागि भारतीय सुरक्षा निकायसँग समन्वय बढाइएको प्रहरीले जनाएको छ। सोही समन्वयका आधारमा नदाफलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: २०८२ चैत्र १०, मंगलवार ०९:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको