राजरंगशालाको बेहाल : प्रवेशद्वार र प्यारापिट कुनैबेला पनि ढलेर दुर्घट्ना निम्ताउने अवस्थामा



सप्तरी, चैत १५ । सप्तरी सदरमुकाम राजविराजमा रहेको तत्कालिन सगरमाथा अञ्चलकै एकमात्र पुरानो राजरंगशाला अत्यन्तै जिर्ण बनेको छ । रंगशाला प्रवेश गर्ने द्वार तथा सात हजार दर्शक अटाउने प्यारापिट जिर्णभई कुनै बेला पनि ढल्ने अवस्थामा छ । तर, कुनै निकायबाट मरमत सम्भार हुन सकेको छैन् ।

२०३६ सालमा निर्माण गरिएको उक्त रंगशाला आवश्यक मरमत सम्भारमा कसैको चासो नदेखिएपछि खेलाडी र खेलप्रेमीमा निराशा छाएको छ । धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी जन्माएको रंगशालाको अविलम्ब संरक्षण हुनुपर्ने जिल्ला फुटबल संघ सप्तरीका महासचिव रमेश श्रेष्ठको भनाई छ । उनी एकातिर जिर्ण रंगशालाले जोखिम बढाएको छ भने मैदान भित्रको फोहोर मैला व्यवस्थापन हुन नसक्दा खेलाडीको अभ्यास समेत प्रभावित भएको बताउँछन् ।



पुर्व खेलाडी एवं सप्तरी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष अरुण प्रधानले राजविराजको प्रतिष्ठा संग जोडिएको एतिहासिक रंगशाला जोखिमपुर्ण र बेहाल अवस्थामा हुनु दुर्भाग्यपुर्ण भएको भन्दै यसको संरक्षणका लागि गम्भिर बन्नुपर्ने बताउँछन् ।

सात हजार दर्शक अटाउने रंगशालाको प्यारापिट अहिले ठाउँठाउँमा भत्केर जुनसुकै बेला दुर्घट्नाको खतरामा छ । रंगशालाको प्यारापिट मुनी बर्षौंदेखि विभिन्न व्यक्तिले कब्जा गरेर बसोबास गरिरहेका छन् । प्यारपिटमुनी अतिक्रमण तथा संरक्षणका लागि सम्बन्धित निकायले चासो नदिदा मैदान अहिले दिशा पिसाव गर्ने, गाई बस्तु चराउने र सवारी साधन चलाउन सिक्ने थलोको रुपमा परिणत हुन थालेको छ ।

रंगशालको स्तरोन्नती योजना लिएर पटक पटक राष्ट्रिय खेलकुद परिषद तथा खेलकुद मन्त्रालय समक्ष बजेट विनियोजनको लागि पहल गरेपनि आश्वासन बाहेक केही नपाइएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टंक प्रसाद मंडल बताउँछन् । आवश्यक बजेट उपलब्ध नहुँदा दुई विगहा सात कठ्ठा चार धुर क्षेत्रफल ओगटेको रंगशाला अहिले लथालिंग अवस्थामा पुगेको उनको भनाई छ ।

खेलकूदको विकासका लागि नयाँ नयाँ पुर्वाधार निर्माणको कुरा हुने गरेको छ । तर, भएका संरचना लाई यसरी बेबारिसे अवस्थामा राखिनु दुखद विषय भन्दै खेलाडी तथा खेल प्रेमीले तीनवटै तहका सरकारले एतिहासिक राजरंगशालाको मरम्त सम्भार गर्ने तर्फ पहल गर्न माग गरेका छन् ।

प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार १५:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको