पूर्णबहादुर खड्काले बोलाए जिल्ला सभापतिहरूको भेला



काठमाडौं, चैत १६ । पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला बोलाएका छन्। पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीसँगै उनले यस्तो पहल गरेका हुन्।

खड्कानिकट स्रोतका अनुसार विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै १९ चैतमा भेला आयोजना गर्ने तयारी गरिएको छ। पछिल्लो राजनीतिक परिस्थितिमा पार्टीभित्र समन्वय र रणनीति तय गर्न भेला महत्वपूर्ण मानिएको छ।

यसैबीच, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा खड्काले वक्तव्य जारी गर्दै केन्द्रीय कार्यसमिति बैठकसमेत आह्वान गरेका छन्। उक्त बैठक काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुनेछ र दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ।

बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ। गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेशका उद्दव थापा, मधेश प्रदेशका कृष्ण यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर सहभागी भएका थिएनन्।

तीमध्ये थापा, यादव र बानियाँ भने प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भइसकेका छन्।

प्रकाशित मिति: २०८२ चैत्र १६, सोमबार १०:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको