काठमाडौं, चैत १८ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीभित्र शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि बढाएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
गत शनिबार कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पूर्णबहादुर खड्का ले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेका थिए। पार्टीले उक्त कदमलाई गम्भीर रूपमा लिएको जनाएको छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोग बाट मान्यता प्राप्त गरिसकेको अवस्थामा खड्काले कार्यवाहक सभापतिको रूपमा गतिविधि गरेको विषयमा असन्तुष्टि बढेको छ। सोही सन्दर्भमा उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ।
यसैबीच, मंगलबार खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकसमेत बोलाएका थिए। उक्त कार्यक्रममा शेखर कोइराला र शशांक कोइराला सँगै उपस्थित भएपछि पार्टीभित्र थप असन्तुष्टि देखिएको छ।
खड्काले चैत १९ गते जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन्। यी सबै विषयमा आजको अनुशासन समिति बैठकमा विस्तृत छलफल हुने बताइएको छ।






