मध्यपूर्व युद्धको ३३ औ दिन : कुवेत–बहराइनमा आक्रमण, कतार नजिक ट्यांकर क्षतिग्रस्त



एजेन्सी, चैत १७ । अमेरिका, इजरायल र ईरान बीच जारी द्वन्द्व ३३ औ दिन पुगेको छ । पछिल्लो घटनाक्रममा कुवेत र बहराइन मा आक्रमण भएको छ भने कतार नजिक एक तेल ट्यांकर क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायली सेनाका अनुसार ईरानतर्फबाट प्रक्षेपण गरिएका मिसाइलहरूलाई हवाई सुरक्षा प्रणालीले अवरोध गरेपछि देशका विभिन्न स्थानमा चेतावनी सायरन बजाइएको थियो। त्यसलगत्तै इजरायलले जवाफी कारबाही गर्दै ईरानको राजधानी तेहरान लगायतका क्षेत्रमा व्यापक आक्रमण गरेको जनाएको छ।



इजरायल डिफेन्स फोर्सले ईरान र उसका सहयोगी नेटवर्कविरुद्ध हजारौं लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ। संयुक्त सैन्य अभियानअन्तर्गत सयौं हवाई हमला तथा ठूलो मात्रामा हतियार प्रयोग गरिएको जनाइएको छ।

यस्तै, लेबनानमा इजरायलको एक सैन्य ड्रोन खसालिएको खबर छ। उता, ईरानले ‘अपरेशन ट्रु प्रमिस ४’ अन्तर्गत नयाँ चरणको सैन्य कारबाही सुरु गरेको बताएको छ।

ईरानी नेतृत्वले हिज्बुल्ला लाई निरन्तर समर्थन रहने सन्देश दिएको छ, जसले क्षेत्रीय तनाव थप बढ्ने संकेत गरेको छ।

यसैबीच, बहराइनमा एक कम्पनीमा आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयले उक्त घटना ईरानी आक्रमणसँग सम्बन्धित हुन सक्ने जनाएको छ।

लगातार बढ्दै गएको सैन्य गतिविधि र प्रतिआक्रमणका कारण मिडिल इस्ट क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएको छ भने विश्वव्यापी रूपमा चिन्ता बढ्दै गएको छ।

प्रकाशित मिति: २०८२ चैत्र १८, बुधबार १३:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको