काठमाडौं, चैत १८ । नेकपा एमाले ले प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको हारका कारणहरूको विस्तृत समीक्षा गर्दै नयाँ पुस्ता ‘जेन-जी’ को उदयलाई निर्णायक कारकका रूपमा औंल्याएको छ।
बुधबार बसेको पार्टी जनसंगठनको बैठकमा महासचिव शंकर पोखरेल ले समकालीन राजनीतिमा युवापुस्ताको प्रभाव बढ्दो रहेको उल्लेख गर्दै हारका २० वटा प्रमुख कारण प्रस्तुत गरेका हुन्।
प्रतिवेदनअनुसार परम्परागत राजनीतिक दलहरू, विशेषगरी एमालेले भोगेको चुनौती केवल चुनावी परिणाममा सीमित नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनसँग जोडिएको निष्कर्ष निकालिएको छ। नयाँ पुस्ताले विचारधारा, इतिहास वा पार्टीप्रतिको निष्ठाभन्दा पनि कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ।
एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ राजनीतिक शक्तिको उदय तथा बालेन शाह र हर्क साम्पाङ जस्ता स्वतन्त्र उम्मेदवारहरूको लोकप्रियताले युवापुस्तालाई वैकल्पिक राजनीतिक धारतर्फ आकर्षित गरेको निष्कर्ष निकालेको छ।
त्यसैगरी, पार्टी अध्यक्ष केपी शर्मा ओली द्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई नयाँ पुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थका रूपमा व्याख्या गरेको तथा त्यसले अस्थिरता बढाएको धारणा पनि प्रतिवेदनमा समेटिएको छ।
एमालेले आफ्नो आन्तरिक एकता कमजोर भएको, नेतृत्वप्रति विश्वासमा कमी आएको तथा स्थायित्व दिन सक्ने क्षमतामा प्रश्न उठेको विषयलाई समेत हारका प्रमुख कारणका रूपमा स्वीकार गरेको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले केवल २५ सिटमा जित हासिल गरेको थियो, जुन अघिल्लो परिणामको तुलनामा उल्लेखनीय गिरावट हो।






