जनकपुरधाम, चैत २० । जनकपुरधामका साधुसन्तहरुले जानकी नवमीमा राष्ट्रिय बिदा दिन माग गरेका छन् । रामानन्दीय वैष्णव संघले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकी नवमीमा राष्ट्रिय बिदा माग गरेका हुन् ।
वैशाख १२ गते जानकी नवमी (जन्मोत्सव) रहेको छ । संघका अध्यक्ष तथा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोसन दासले राष्ट्रिय विभूति जानकीको जन्मोत्सवमा राष्ट्रिय विदा हुनु पर्ने सरकार संग मांग गरेका छन ।
जेनजी आन्दोलन प्रति गठित नयाँ सरकारले जनताको भावना र धर्मको माध्यमले विश्वमा पहिचान स्थापित गराउने जानकीको जन्मोत्सव राष्ट्रिय पर्वको रुपमा मनाउने विश्वास आफुहरुले गरेको महन्थ दासले बताए ।
उनले भने ,‘ जानकी जन्मोत्सव धार्मिक पर्व मात्र नभई मुलुकलाई विश्वमा चिनाउने अवसर समेत रहेको छ । नव गठित सरकारले यसलाई राम्ररी बुझेको हुनु पर्छ । ’
जानकी नवमीमा प्रदेश सरकारले बिदा दिँदै आएको छ । तर, जानकी (सीता) प्रदेशको मात्र नभई देश गौरवका रूपमा रहेको भन्दै राष्ट्रिय बिदा दिन माग गरेको उनको कथन थियो ।
यस वर्ष ९ दिनसम्म जानकी नवमी मनाइने साधु समाजको तयारी छ । पहिलो दिन दूधमती नदीमा शाही स्नान गरी रामायण पाठ र रामकथा सबै दिन गरिने महन्थ दासले जानकारी दिए ।
उनका अनुसार रामकथामा राम र सीताका बारेमा धार्मिक गुरुले चर्चा गर्नेछन् । मुख्य दिन जन्म आरती, सन्ध्या आरती र दीप प्रज्वलन गर्ने तालिका छ । जानकी नवमीको अवसरमा मठ मन्दिरले गोष्ठी पनि आयोजना गरी जानकी नवमी मनाउने तयारीमा छ ।






