रौतहटबाट पाँच जना बिचौलिया पक्राउ



रौतहट, चैत २० । रौतहटको सदरमुकाम गौरबाट शुक्रबार पाँच जना बिचौलिया पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गौरस्थित भूमिसुधार तथा मालपोत कार्यालय बाट चार जना र गौर बसपार्कबाट एक जना पक्राउ परेका हुन्। सेवाग्राहीलाई अनावश्यक हैरानी र ठगी कार्यमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक जीवन मैनाली ले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा यमुनामाइ–२ का २८ वर्षीय सिकित नारायण, राजदेवी–७ का २४ वर्षीय बब्लु प्रसाद यादव, सोही स्थानका ३० वर्षीय श्याम बिहारी यादव, परोहा–७ का ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर–८ का ६० वर्षीय राजेन्द्र राउत बरै रहेका छन्।

प्रहरीका अनुसार, उनीहरू मालपोत कार्यालय, जिल्ला अदालत लगायत अन्य सरकारी कार्यालयमा सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा जानु र त्यसवापत अनुचित लाभ लिने जस्ता कार्यमा संलग्न थिए। लामो समयदेखि बिचौलियाहरूले सर्वसाधारणलाई हैरानी दिँदै आर्थिक रूपमा पनि पिडित बनाउँदै आएका थिए।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ। यस किसिमका गतिविधिमा संलग्नमाथि कडा कारबाहीको माग पनि उठेको छ।

प्रकाशित मिति: २०८२ चैत्र २०, शुक्रबार १९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको