एजेन्सी, चैत २६ । पाकिस्तान ले अमेरिका-इरानबीच हुन लागेको उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक बिदा घोषणा गरेको छ। यस निर्णयलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ।
बिहीबारदेखि लागू हुने गरी गरिएको यस निर्णयबारे इस्लामाबाद जिल्ला प्रशासनले बुधबार राति सूचना जारी गरे पनि औपचारिक कारण खुलाइएको छैन। यद्यपि, विगतमा पनि उच्चस्तरीय कूटनीतिक गतिविधिहरूअघि सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै यस्ता कदम चाल्ने अभ्यास रहेको अधिकारीहरूले जनाएका छन्।
मध्यपूर्वमा जारी तनावका बीच संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामाबादमै वार्ता हुने तयारी भइरहेको छ। ह्वाइट हाउस का अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स ले यस सप्ताहन्त हुने वार्ताका लागि प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम रहेको छ।
घोषित बिदा बिहीबार र शुक्रबार इस्लामाबाद राजधानी क्षेत्रभित्र मात्र लागू हुनेछ। यस अवधिमा सरकारी तथा निजी कार्यालयहरू बन्द रहनेछन्, जसले राजधानीको दैनिक गतिविधिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
तर, अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने प्रशासनले स्पष्ट पारेको छ। प्रहरी, अस्पताल, विद्युत् तथा ग्यास आपूर्ति सेवा नियमित रूपमा खुला रहनेछन्। जिल्ला प्रशासनले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई आफ्ना कामकाज सोहीअनुसार व्यवस्थापन गर्न आग्रह गरेको छ।
विश्लेषकहरूले यस कदमलाई पाकिस्तानले अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा आफूलाई मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा पनि व्याख्या गरेका छन्, जहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको देखिन्छ।






