काठमाडौं, चैत २७ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज सम्पन्न निर्वाचनमा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार सरस्वती लामा लाई पराजित गर्दै जित हासिल गरेकी हुन्।
निर्वाचनमा सहभागी २५७ सांसदमध्ये रुबीकुमारीले २१५ मत प्राप्त गर्दा सरस्वती लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी को समर्थन रहेको थियो।
त्यस्तै, नेकपा एमाले ले मतदानमा भाग नलिँदा तटस्थमा ३७ मत खसेको थियो, जबकि एमालेका २५ सांसद रहेका छन्।
को हुन् रुबीकुमारी ठाकुर ?
२५ वर्षीया रुबीकुमारी ठाकुर नेपालको सबैभन्दा कम उमेरमा उपसभामुख बन्ने व्यक्तिका रूपमा चिनिएकी छन्। उनी हालको प्रतिनिधिसभाकै कान्छी सदस्य समेत हुन्। श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटाअन्तर्गत समानुपातिक सूचीमा समावेश गरेको थियो।
धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीको पारिवारिक अवस्था संघर्षपूर्ण रहेको छ। उनका बुवा सोगराथ ठाकुर वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा कार्यरत छन् भने आमा रेणु ठाकुर गृहिणी हुन्। परिवारको जीविकोपार्जन कृषि र रेमिट्यान्समा आधारित रहेको छ।
शैक्षिक रूपमा उनले एसईई उत्तीर्ण गरेपछि धनुषास्थित बलरा पोलिटेक्निकबाट इन्जिनियरिङतर्फ तीन वर्षे डिप्लोमा पूरा गरेकी छन्। सांसद बन्नुअघि उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा कार्यरत थिइन् र मासिक करिब २० हजार रुपैयाँ आम्दानी गर्थिन्।
राजनीतिमा प्रवेशका क्रममा उनको भेट हर्क साम्पाङ सँग भएपछि उनी प्रभावित भई श्रम संस्कृति पार्टीको चुनावी अभियानमा सक्रिय भएकी थिइन्। त्यसपछि पार्टीले उनलाई समानुपातिकतर्फबाट सांसदमा सिफारिस गरेको थियो।






