मध्यपूर्वमा स्थायी शान्तिको खोजी : इस्लामावादमा अमेरिका र इरान बीच ऐतिहासिक वार्ता



एजेन्सी, चैत २८ । मध्यपूर्वमा जारी तनावलाई कम गर्दै स्थायी युद्धविरामको मार्ग प्रशस्त गर्न आज पाकिस्तानको राजधानी इस्लामावादमा संयुक्त राज्य अमेरिका र इरानका उच्च अधिकारीहरूबीच औपचारिक वार्ता हुने भएको छ। विगत केही समयदेखि चर्किएको सैन्य द्वन्द्वलाई शान्तिपूर्ण समाधानमा लैजान दुवै देशका शक्तिशाली प्रतिनिधिमण्डलहरू आजै इस्लामावाद पुगेका हुन्।

अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहनुभएको छ भने इरानी पक्षको नेतृत्व त्यहाँका सभामुख मोहम्मद बाघर घालिबाफले गरिरहनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। दुई साताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थता प्रस्ताव र पाकिस्तानको सक्रिय कूटनीतिक पहलपछि यो वार्ता सम्भव भएको हो।

वार्ताका मुख्य एजेन्डाहरूमा दुई हप्ते अस्थायी युद्धविरामलाई स्थायी रूप दिने र सैन्य कारबाही पूर्ण रूपमा बन्द गर्ने, हर्मुज स्टे«ट विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने यस क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउने र सुरक्षित बनाउने, इरानको आणविक कार्यक्रममाथिको नियन्त्रण र अमेरिकाले लगाएका विभिन्न आर्थिक प्रतिबन्धहरू फुकुवा गर्ने विषय र लेबनान लगायत मध्यपूर्वका अन्य क्षेत्रमा भइरहेको हिंसा अन्त्य गर्ने रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले यस वार्तालाई ूऐतिहासिक अवसरू भन्दै यो वार्ता सफल भएमा मात्र मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापना हुन सक्ने बताउनुभएको छ। इस्लामावादमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ र विश्वभरको नजर अहिले यो वार्ताको नतिजामा अडिएको छ।

यद्यपि, इरानले लेबनानमा भइरहेको इजरायली हमला पूर्ण रूपमा रोकिनुपर्ने शर्त राखेको छ भने अमेरिकाले इरानको आणविक महत्वाकांक्षामा कडा नियन्त्रण चाहेको छ। यी विपरीत अडानका बीच हुने आजको वार्ताले विश्व राजनीति र अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ चैत्र २८, शनिबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको