जनकपुरधाम, वैशाख १ । विक्रम संवत्को नव वर्ष २०८३ आज देखी प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतको प्रतीकका रूपमा लिँदै देशभर हर्षोल्लासका साथ मनाइँदैछ।
वैशाख १ गते वर्षको पहिलो दिनका रूपमा मनाइने भएकाले आज नेपालीहरूबीच शुभकामना आदानप्रदान, भेटघाट तथा विभिन्न सांस्कृतिक गतिविधि हुँदै आएका छन्। विश्वका विभिन्न देशमा फरक(फरक समयमा नयाँ वर्ष मनाउने प्रचलन भए पनि नेपालमा भने वैशाख १ लाई विशेष पर्वका रूपमा लिइन्छ।
विक्रम संवत् विश्वका प्राचीन संवत्हरूमध्ये एक मानिन्छ। आजकै दिन सूर्यले मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले यसलाई मेष सङ्क्रान्ति वा वैशाख सङ्क्रान्ति पनि भनिन्छ। सूर्यको गतिसँग सम्बन्धित भएकाले यो संवत् वैज्ञानिक रूपमा पनि महत्वपूर्ण मानिएको विद्वानहरूको भनाइ छ।
नयाँ वर्षको दिन मानिसहरूले विगत वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनका लागि नयाँ योजना र सङ्कल्प गर्ने चलन छ। बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, मन्दिरमा पूजा गर्ने, मिठो परिकार खाने तथा आफन्त र साथीभाइसँग भेटघाट गर्ने परम्परा रहिआएको छ।
देशविदेशमा रहेका नेपालीहरूले पनि आजको दिनलाई विशेष उत्सवका रूपमा मनाउने गरेका छन्। भक्तपुरमा आज बिस्का जात्राको रौनक छ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने विश्वासले पनि यस दिनलाई विशेष बनाएको छ।
नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै देशको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।






