जीतेश कुमार यादव
सर्लाही, वैशाख ६। बालेन नेतृत्वको सरकारले हालै लागु गरेको भन्सार नीतिप्रति मधेशमा असन्तोष बढन थालेको छ । एक सय रुपैया भन्दा माथीको सामानमा भन्सार लागु हुने निर्णय सीमावर्ती क्षेत्रमा पर्ने त्यसको प्रभावबारे विभिन्न गुनासोहरू सार्वजनिक हुन थालेका छन्। विशेषगरी भारतसँगको सीमावर्ती व्यापार, रोजगारी तथा दैनिक उपभोग्य सामग्रीको आवागमनमा असर परेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाउन थालेका छन्।
स्थानीयवासीहरूका अनुसार एक सय रुपैयाँभन्दा माथिका सामानमा लगाइएको कर तथा सीमामा कडाइका कारण नेपाल–भारतबीचको परम्परागत ‘रोटी–बेटी सम्बन्ध’ र दैनिक जीवनयापनमा चुनौती थपिएको छ। भारतमा रोजगारी वा व्यापारमा निर्भर रहेका धेरै परिवारहरू यस नीतिबाट प्रभावित भएको उनीहरूको भनाइ छ।
त्यस्तै, सीमावर्ती क्षेत्रमा साना सवारी साधन तथा उपभोग्य वस्तु जाँचको क्रममा सर्वसाधारणलाई बढी कडाइ गरिए पनि ठूला तथा प्रभावशाली समूहका सवारी साधनमा समान व्यवहार नहुने आरोपसमेत उठाइएको छ। स्थानीयहरूले प्रहरी प्रशासनमा सेटिङमार्फत अवैध सामान भित्रिने गरेको गुनासो पनि व्यक्त गरेका छन्।
यसैबीच, यी नीतिहरूका कारण सत्तारुढ दलको लोकप्रियतामा समेत असर परेको विश्लेषण हुन थालेको छ। कतिपयले निर्वाचनमा बालेनप्रति देखिएको व्यापक समर्थन अहिले घट्दै गएको दाबी गरेका छन् भने विपक्षी दलहरूले यस विषयलाई राजनीतिक रूपमा उपयोग गर्न थालेको देखिएको छ।






