काठमाडौँ, वैशाख ७ । प्रधानमन्त्री बालेन्द्र शाहले आज देशभरका विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग महत्वपूर्ण छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे बैठक बस्ने तय भएको छ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिलाई छलफलका लागि बोलाइएको हो। बैठकमा विश्वविद्यालय तथा प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, चुनौती तथा तिनका समाधानका उपायबारे व्यापक रूपमा छलफल हुने जनाइएको छ। साथै, तत्काल समाधान गर्न सकिने विषयहरूमा समेत निर्णय लिन सकिने अपेक्षा गरिएको छ।
छलफलमा त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपतिहरू सहभागी हुनेछन्।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरू पनि उपस्थित रहनेछन्।
त्यसैगरी प्रतिष्ठानतर्फ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने कार्यक्रम छ।
सरकारले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै उच्च तहबाट प्रत्यक्ष समन्वय बढाउने उद्देश्यसहित यो छलफल आयोजना गरिएको बताइएको छ।






