एजेन्सी, वैशाख ७ । इरानले संयुक्त राज्य अमेरिका सँग प्रस्तावित दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको छ। इरानले अमेरिकामाथि अत्यधिक माग राख्ने, बारम्बार आफ्नो अडान बदल्ने र ‘ब्लेम गेम’ खेल्ने आरोप लगाएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हालै इस्लामाबादमा दोस्रो चरणको वार्ता हुने भनिएका समाचारहरू सत्य नभएको स्पष्ट गरिएको छ। यससँगै दुई देशबीचको कूटनीतिक संवाद थप अनिश्चित बनेको छ।
इरानले अमेरिकाले अव्यावहारिक सर्तहरू अघि सारेको, विरोधाभासी अभिव्यक्ति दिएको र वार्तामा बाधा पुर्याएको आरोप लगाएको छ। साथै, अमेरिकी नौसैनिक नाकाबन्दी युद्धविराम सम्झौताविपरीत रहेको र यसले क्षेत्रीय तनाव थप बढाएको तेहरानको भनाइ छ।
इरानले यस्तो अवस्थासम्म वार्ता सम्भव नभएको जनाउँदै नाकाबन्दी नहटेसम्म कुनै पनि संवादमा सहभागी नहुने संकेत दिएको छ।
यता, डोनाल्ड ट्रम्प ले इरानमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। उनले अमेरिकाले इरानलाई ‘उचित प्रस्ताव’ दिएको दाबी गर्दै अझै पनि सम्झौताको सम्भावना रहेको बताएका छन्।
यस घटनाक्रमसँगै मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ, विशेषगरी युद्धविरामको समयसीमा नजिकिँदै जाँदा दुबै पक्षबीच आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ।






