एजेन्सी, वैशाख ९ । बिहारमा नयाँ राजनीतिक समीकरणको चर्चा फेरि चुलिएको छ। पूर्व मुख्यमन्त्री लालू यादवका छोरा तथा जनशक्ति जनता दलका संस्थापक तेजप्रताप यादवले जन सुराज अभियानका प्रमुख प्रशान्त किशोर सँग भेटवार्ता गरेका छन्। उक्त भेटलाई भविष्यको राजनीतिक दिशासँग जोडेर हेरिएको छ।
सोमबार साँझ भएको उक्त भेटमा दुवै नेताबीच जनहित, विकास र बदलिँदो राजनीतिक परिस्थितिबारे गहिरो छलफल भएको जनाइएको छ। तेज प्रताप यादवले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै उक्त भेटलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण क्षणको रूपमा उल्लेख गरेका छन्।
उनका अनुसार छलफलमा जनताको अपेक्षा, वर्तमान राजनीतिक चुनौती तथा सम्भावित नयाँ समीकरणहरूबारे विस्तृत विचार–विमर्श भएको थियो। उनले यो भेट औपचारिक मात्र नभई आगामी दिनमा राजनीतिलाई प्रभावित गर्न सक्ने विषयहरूमा केन्द्रित रहेको बताएका छन्। यसैबीच, तेज प्रताप यादवले आफूलाई “जनसेवा र सकारात्मक सोचका साथ अघि बढ्ने संकल्प अझ बलियो भएको” भन्दै यो संवादलाई महत्वपूर्ण अनुभवको रूपमा लिएको उल्लेख गरेका छन्।
राजनीतिक विश्लेषकहरूले भने यस भेटलाई बिहारको आगामी राजनीतिक समीकरणमा सम्भावित नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेर्न थालेका छन्।






