जनकपुरधाम, वैशाख १० । सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने निर्णयविरुद्ध नेपाल पत्रकार महासंघको विरोध कार्यक्रम अन्तर्गत धनुषा सहितका जिल्ला शाखाहरुले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
जिल्ला शाखाहरुको नेतृत्वमा महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय प्रेस स्वतन्त्रता, संवैधानिक व्यवस्था र खुला बजार अर्थनीतिविरुद्ध रहेको ठहर गरेको हो।
विज्ञापन क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने सरकारी प्रयास सकारात्मक भए पनि सोही नाममा सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्नु संविधान, कानुन, अन्तर्राष्ट्रिय मूल्यमान्यता तथा सङ्घीयताको मर्मविपरीत र आपत्तिजनक रहेको महासंघले जनाएको छ।
गत चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको परिपत्रमार्फत संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई सरकारी सञ्चारमाध्यममै मात्र विज्ञापन प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा जारी परिपत्र विरुद्ध नेपाल पत्रकार महासंघ चरण बद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार हिजो मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाइएको थियो ।






