ओम प्रकाश यादव
रौतहट, वैशाख १० । रौतहटको माधवनारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण एलानी (सरकारी) जग्गा तथा अतिक्रमित सडक ३५ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ। नगरपालिकाले अतिक्रमण बढ्दै जाँदा सार्वजनिक सम्पत्तिको संरक्षणमा चुनौती देखिएको भन्दै यस्तो निर्णय गरेको जनाएको छ।
नगर प्रमुख बैजनाथ प्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार बैशाख ७ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र सम्बन्धित व्यक्तिले आफैंले अतिक्रमित जग्गा खाली गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र स्वेच्छाले खाली नगरे नगरपालिकाले डोजर प्रयोग गरी जबरजस्ती खाली गराउने चेतावनी दिइएको छ।
नगरपालिकाले सार्वजनिक जग्गा, सडक तथा अन्य संरचनामा भएको अतिक्रमणका कारण आवागमनमा समस्या, विकास निर्माण कार्यमा अवरोध तथा समग्र शहरी व्यवस्थापनमा असर परेको उल्लेख गरेको छ। यसलाई नियन्त्रण गर्न कडाइका साथ अभियान अघि बढाइएको जनाइएको छ।
सूचनामा नगरपालिकाले आफैं डोजर प्रयोग गरी अतिक्रमण हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकर्ताबाटै असुल गरिने स्पष्ट पारेको छ। साथै, अटेरी गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार थप कारबाही गरिने पनि जनाइएको छ।
नगरपालिकाले समयमै अतिक्रमित जग्गा खाली गरी सहयोग गर्न सबै नगरवासीलाई आग्रह गरेको छ। नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि छुट नदिइने चेतावनीसमेत दिइएको छ।






