मधेस प्रदेश सरकारबाट जनमत फिर्ता, जसपा नेपाल पर्ख र हेरको अवस्थामा



जनकपुरधाम, वैशाख २२ । मधेश प्रदेश सरकारबाट जनमत पार्टी फिर्ता भएको छ । मधेस प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको छ।

पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालले जनाएका छन ।



मधेस प्रदेशसभामा जनमत पार्टीका १२ जना सांसद छन्। हाल पार्टी सरकारमा सहभागी भई अर्थ मन्त्रालयसहित दुई मन्त्रालय सम्हाल्दै आएको छ। पार्टीबाट महेश यादव अर्थमन्त्री तथा बसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्रीका रूपमा कार्यरत छन्।

प्रमुख सचेतक सिंहले समर्थन फिर्ताको निर्णय पुष्टि गरेका छन्। तर संसदीय दलका नेता समेत रहेका अर्थमन्त्री महेश यादवले भने यसबारे आफूलाई जानकारी नभएको बताएका छन्।

पछिल्ला केही सातादेखि समर्थन फिर्ताको चर्चा चलिरहँदा मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकार परिवर्तन नहुने दाबी गर्दै आएका थिए। यद्यपि, पछिल्लो राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ।

यसअघि पनि जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार ढालेको थियो। जेनजी आन्दोलनका क्रममा तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरे पनि पछि कार्यान्वयन नगरेपछि पार्टीले समर्थन फिर्ता लिएको थियो। त्यसपछि जनमत कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको थियो।
जनता समाजवादी पार्टी नेपालले समेत समर्थन फिर्ता लिने चर्चा चलि रहेको बेला यो समाचार तयार पार्दा सम्म जसपाले कुनै औपचारिक निर्णय गरेको छैन । जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादव समर्थन फिर्ता बारे हाल सम्म कुनै निर्णय नभएको बताएका छन ।

जनमत पार्टीले समर्थन फिर्ता लिई सकेका कारण अवको ३० दिन भित्र काँग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत लिनु पर्ने बाध्यात्मक कानूनी व्यवस्था छ । अबको ३० दिनमा मधेश प्रदेशको कस्तो समीकरण बन्ने हो हेर्न बाँकी छ ।

प्रकाशित मिति: २०८३ बैशाख २२, मंगलवार ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको