काठमाडौं, वैशाख २२ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। उत्कृष्ट बलिङ प्रदर्शन गर्दै गुल्सन झाले ५ विकेट लिएपछि ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो।
नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमानका लागि विनायक शुक्लाले ३६ रन बनाए भने हम्मद मिर्जा (३४) र हसनैन वाहाव (२९) ले केही संघर्ष गरे। तर अन्य ब्याट्सम्यानले राम्रो साथ दिन नसक्दा टोली ठूलो अन्तरले पराजित हुन पुग्यो।
नेपालका लागि गुल्सन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। उनका लागि यो ओडिआई करियरकै उत्कृष्ट बलिङ प्रदर्शन हो। साथै, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा २५६ रन बनाएको थियो। ओपनर आसिफ शेखले ९४ रनको उत्कृष्ट इनिङ्स खेले भने अर्जुन कुमालले ४८ रन जोडे। आरिफ शेखले ४३ रनको आक्रामक इनिङ्स खेल्दा दीपेन्द्र सिंह ऐरीले ३३ रन थपे।
शतक नजिक पुगेका आसिफ ९७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ९४ रनमा आउट भए। उनले अर्जुनसँग दोस्रो विकेटका लागि १२३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
ओमानका लागि नदिम खानले ३ विकेट लिए भने सकिल अहमदले २ विकेट झारे।
यस जितसँगै नेपालले सिरिजमा ४ खेलमध्ये ३ जित निकाल्दै ६ अंक जोडेको छ। २४ खेलबाट १८ अंक बनाएको नेपाल लिग–२ तालिकाको सातौं स्थानमा यथावत रहेको छ।
नेपालले यसअघि यूएईलाई दुई खेलमा हराएको थियो भने ओमानसँग एक खेलमा पराजित भएको थियो। यस जितसँगै नेपालले ओमानविरुद्धको अघिल्लो हारको बदला समेत लिएको छ।
अब नेपालले आगामी श्रृंखलामा अमेरिका र स्कटल्यान्डविरुद्ध घरेलु मैदानमै वैशाख २९ गतेदेखि प्रतिस्पर्धा गर्नेछ।






