रुपन्देही, वैशाख २३ । भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा प्रहरीले मध्यराति छापा मार्दा म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देही का अनुसार सिद्धार्थनगर नगरपालिका–१० मा रहेको गौतमबुद्ध इन्टरनेसनल होटल भित्र सञ्चालनमा रहेको उक्त क्यासिनोमा नेपाली नागरिक अवैध रूपमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले मंगलबार राति चेकजाँच गर्दा जुवा खेलाउने ४ जना र खेल्ने १५ जना गरी १९ जनालाई नियन्त्रणमा लिएको सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।
प्रहरीले उनीहरूको साथबाट नगद ९५ हजार ५ सय रुपैयाँ, १७ थान मोबाइल र २०० थान क्यासिनो क्वाइन बरामद गरेको जनाएको छ।
पक्राउ परेकामध्ये १५ जना रुपन्देहीका रहेका छन् भने अन्य एक–एक जना काठमाडौँ, ललितपुर, गुल्मी र पर्सा जिल्लाका छन्। उनीहरूलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






