तमिलनाडुमा सरकार गठन अन्योलमा, विजय बहुमत जुटाउन असफल



चेन्नई, वैशाख २६ । तमिलनाडुमा अभिनेता–राजनेता विजय र उनको पार्टी तमिलगा वेट्री कझगम (टीभीके) को सरकार गठनको सपना तत्कालका लागि अधुरै बनेको छ । पर्याप्त बहुमत पुष्टि गर्न नसकेपछि तमिलनाडुका राज्यपाल आर.भी. अर्लेकर ले विजयलाई मुख्यमन्त्री पदको शपथ गराउन अस्वीकार गरेका छन् ।

टीभीकेले हालै सम्पन्न विधानसभा निर्वाचनमा १०८ सिट जितेको थियो । विजयले आफूलाई ११८ जना विधायकको समर्थन रहेको दाबी गर्दै सरकार गठनको दाबी पेश गरेका थिए । तर राज्यपाल कार्यालयका अनुसार उनीसँग ११६ जना विधायकको मात्रै लिखित समर्थन पुगेको छ ।

राज्यपालले स्पष्ट रूपमा ११८ विधायकको समर्थनपत्र बिना सरकार गठनका लागि निमन्त्रणा दिन नसकिने अडान लिएका छन् ।

सरकार गठनको प्रयासका क्रममा सम्भावित सहयोगी दलहरूले समेत टीभीकेलाई समर्थन गर्न अस्वीकार गरेका छन् । इन्डियन युनियन मुस्लिम लिग ९आईयूएमएल० र एएमएमकेले छुट्टाछुट्टै पत्र जारी गर्दै विजय नेतृत्वको गठबन्धनबाट अलग रहेको बताएका छन् । एएमएमकेले त राज्यपाललाई पत्र लेख्दै एआईएडीएमकेलाई सरकार गठनको अवसर दिन आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यद्यपि, वामपन्थी दलहरू सीपीआई र सीपीएमले बाहिरबाट समर्थन गर्ने घोषणा गरेका छन् । साथै कांग्रेसका पाँच विधायकको समर्थन पनि टीभीकेलाई रहेको बताइएको छ । तर आवश्यक संख्या भने अझै पूरा हुन सकेको छैन ।

टीभीकेकी विधायक मेरी विल्सन ले विजय दीर्घकालसम्म तमिलनाडुको मुख्यमन्त्री बन्ने विश्वास व्यक्त गर्दै अन्तिम समयमा सकारात्मक समाचार आउन सक्ने बताएकी छन् ।

स्रोतका अनुसार टीभीके अब अदालत जाने तयारीमा रहेको छ ।

तमिलनाडुमा सरकार गठनको विषय अझै अनिश्चित बनेको छ । अब राज्यपालको आगामी कदम तथा सम्भावित कानुनी प्रक्रियातर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख २६, शनिबार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको