ईरानका परमाणु केन्द्रमाथि अमेरिकाको कडा निगरानी



एजेन्सी, वैशाख २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका उच्च संवर्धित युरेनियम भण्डारमाथि अमेरिकाले निरन्तर निगरानी गरिरहेको दाबी गरेका छन्। उनले ती परमाणु केन्द्र नजिक पुग्ने जो–कोहीलाई अमेरिकी सेनाले तत्काल निशाना बनाउने चेतावनी दिएका हुन्।

अन्तरवार्ताका क्रममा ट्रम्पले अमेरिकी स्पेस फोर्सले ईरानका परमाणु गतिविधिमाथि विशेष निगरानी गरिरहेको बताएका छन्। उनका अनुसार कुनै व्यक्ति ती स्थान नजिक पुगेमा अमेरिकी सुरक्षा प्रणालीले तुरुन्त पहिचान गर्न सक्ने र आवश्यक परे सैन्य कारबाही गर्न सक्ने क्षमता राख्छ।

ट्रम्पले ईरानको सैन्य क्षमता कमजोर भइसकेको दाबी गर्दै त्यहाँको नौसैनिक, वायु तथा हवाई प्रतिरक्षा प्रणालीमा गम्भीर क्षति पुगेको बताएका छन्। उनले अमेरिकाले हालसम्म आफ्ना करिब ७० प्रतिशत सैन्य लक्ष्य पूरा गरिसकेको उल्लेख गर्दै आवश्यक परे आगामी दुई सातासम्म थप कारबाही जारी रहन सक्ने संकेत पनि दिएका छन्।

परमाणु हतियारको विषयमा बोल्दै ट्रम्पले “अस्थिर शासन” लाई परमाणु हतियार प्राप्त गर्न दिन नहुने बताएका छन्। उनले ईरानको परमाणु कार्यक्रम मध्यपूर्व र इजरायलको सुरक्षाका लागि खतरा रहेको दाबी गरे।

सन् २०१५ मा भएको जेसीपीओए परमाणु सम्झौताबाट अमेरिका बाहिरिने आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले उक्त कदमले ईरानलाई परमाणु हतियार प्रयोग गर्नबाट रोकेको दाबी गरेका छन्। साथै, अमेरिकाको सैन्य कारबाहीले ईरानलाई दशकौँ पछाडि धकेलेको उनको भनाइ छ।

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको