हरवा–चरवाको समयानुकूल ज्याला निर्धारण गर्न माग



सप्तरी, वैशाख २८ । नागरिकता तथा अन्य परिचयपत्रको अभावमा विभिन्न सेवा सुविधाबाट बञ्चित भई कष्टकर जिवन विताउन बाध्य हरवा–चरवाको समयानुकूल ज्याला, मर्यादित श्रम र सुरक्षा समेत पाउन नसक्दा थप समस्यामा परेको गुनासो गरिएको छ ।

मुक्त हरवा चरवा अधिकार मञ्चले सोमबार सप्तरी सदरमुकाम राजविराजमा आयोजना गरेको “हरवा चरवा श्रमिकको अवस्था, ज्याला, मर्यादित श्रम र सुरक्षा” विषयक जिल्लास्तरीय कार्यशाला गोष्ठिमा सहभागी हरवा चरवाका अगुवाहरुले यस्तो गुनासो पोखेका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्कीले साहु महाजनको खेतबारीमा काम गर्ने र बस्तुभाउ चराएपछि पाइने न्यून ज्यालाले हरवा चरवा परिवारलाई आफ्नो परिवार पाल्न निकै कष्ट झेल्नु परिरहेको भन्दै सरकारले सम्मानजनक पारिश्रमिक निर्धारण गर्नुपर्ने माग गरे ।

मुक्त हरवा चरवा अधिकार मञ्चका केन्द्रिय अध्यक्ष दशन मंडलले हरवा चरवाको दयनिय अवस्थालाई ख्याल गरी राज्यले श्रम अनुसारको ज्याला निर्धारण गरी कडाईका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

द फ्रिडम फण्डका कानुनी सल्लाकार बालाराम भट्टराईले सरकारले २०७९ साउन २ गतेका दिन औपचारिक रुपमा हरवा चरवा मुक्तिको घोषणा गरेको भएपनि व्यवहारमा भने लागु नहुँदा हरवा चरवाको अवस्था दशकौं देखि ज्यु का त्यू रहेको बताए ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक विनोदानन्द चौधरीले हरवा चरवा परिवारको आफ्नै नामको जग्गा नहुँदा बसोबासको असुरक्षा भएको भन्दै सुरक्षित बास र परिवार संख्याका आधारमा जग्गा सहित पुनःस्थापित गराउनुपर्ने माग गरे ।

द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले मजदुरीका अन्य क्षेत्रमा सरकारले जिल्ला दररेट कायम गरेको भएपनि कार्यान्वय नभएको तथा कृषिक्षेत्रमा काम गर्ने मजदुरको ज्याला सन्दर्भमा कुनै दररेट कायम हुन सक्दा हरवा चरवा श्रम शोषणमा पर्ने गरेको भन्दै यसतर्फ राज्यको ध्यान जानुपर्ने आवश्यकता औल्याए ।

द फ्रिडम फण्डको सहयोग तथा जनचेतना दलित संगम सप्तरी, श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरी, सामुदायिक सुधार केन्द्र धनुषा, दलित जनकल्याण युवा क्ल्व सिरहा र राष्ट्रिय दलित नेटवर्कको समन्वय र सहकार्यमा आयोजित कार्यक्रममा मुक्त हरवा चरवा मञ्चका केन्द्रिय कोषाध्यक्ष राजवती मंडल, गैसस महासंस सप्तरीका उपाध्यक्ष बलदेव मंडल, सामुदायिक सुधार केन्द्रका सतिश कुमार ठाकुर, कासिन्द्र महरा लगायतले पनि बोल्दै हरवा चरवा लाई सम्मानपुर्वक जिवनयापनका लागि राहतका विशेष कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागि हुन आयोजकले १८ वटै पालिकाका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समितिका प्रमुखलाई पत्राचार गरी आमन्त्रण गरेको थियो । तर, कार्यक्रममा उनीहरु मध्येका कोही आएनन् । जनप्रतिनिधको नाममा कार्यक्रममा एकजना वडाध्यक्ष मात्र सहभागि भए । उनी थिए शम्भुनाथ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विजय साह ।

प्रमुख अतिथि बनाईएका देखि आमन्त्रण गरिएका जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुख आउने आशमा कार्यक्रम निर्धारित समय भन्दा दुई घण्टा ढिलो सुरु गरिएको थियो ।

प्रकाशित मिति: २०८३ बैशाख २८, सोमबार १९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको