मधेश सरकारबाट घोक्र्याइए जसपा नेपाल, तीन मन्त्री बर्खास्त



जनकपुरधाम, जेठ ८ । नेपाली काँग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) नेपाल घोक्र्याइएका छन ।

मधेश प्रदेशसभाको सबै भन्दा ठूलो दल जसपा नेपालका तीन जना मन्त्रीलाई मुख्यमन्त्री यादवले विहीवार राति बर्खास्त गरे संगै जसपा नेपाल सरकारबाट बाहिरिएका छन ।

केन्द्रिय समीकरण अनुरुप नेकपा एमालेले वर्तमान सरकारलाई समर्थन जनाउने निर्णय गरे लगतै मुख्यमन्त्री यादवले जसपाका भौतीक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष सुमन र शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलाई बर्खास्त गरेका हुन ।
मुख्यमन्त्री यादवले एमालेबाट महम्मद समीरलाई विना विभागीय मन्त्रीमा नियुक्त गर्दै एमालेलाई सरकारमा सहभागी गराइएको हो ।

जनता समाजवादी पार्टी मधेश प्रदेश संसदीय दलको नेतामा पूर्व मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भए लगतै वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि मुख्यमन्त्रीले नै मन्त्रीहरु वर्खास्त गरेका छन । सरकारको निर्णय पछि जसपा नेपालले आफनो समर्थन कायमै राख्ने वा प्रतिपक्षमा बस्ने भने निर्णय अझै गर्न नसकेको एक जना सांसदले मधेश टुडेलाई जनाएका छन ।

मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने कार्यक्रम रहेको छ । मधेश प्रदेश सभामा जनता समाजवादी पार्टी नेपालको २६ , नेकपा एमालेको २४ , नेपाली काँग्रेसको २२, नेपाली कम्युनिष्ट पार्टीको १४, जनमत पार्टीको १२ र संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीको १÷१ सिट रहेको छ ।

सरकारमा अव नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा ६० जना सांसदको समर्थन कायम रहने भएको छ ।

प्रकाशित मिति: २०८३ जेष्ठ ८, शुक्रबार ०६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको