जनकपुरधाम, जेठ ११ । मधेश प्रदेश सरकारले विश्वासको मत प्राप्त गरेको ४ दिन नबित्दै संकटमा परेको छ । जनमत पार्टी बाट खोसिएको अर्थ मन्त्रालयमा विवाद भएपछि नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिने धम्की दिएपछि सरकार संकटमा परेको हो ।
जनमत पार्टी र जसपा नेपाल बाट फिर्ता लिइएको मन्त्रालयहरुको भागवण्डा मिलाउन आइतवार बसेको सत्तारुढ दलहरुको बैठकमा नेपाली काँग्रेसले अर्थमन्त्रालय हाल आफै संग राख्ने र भौतिक पूर्वाधार मन्त्रालय एमालेलाई दिएर भागवण्डा टुङ्गयाउने प्रस्ताव गरेपछि नेकपा बिच्चिकिएको हो ।
आइतवार नै मन्त्री परिषद विस्तारको तयारी गरेको मधेश प्रदेश सरकार नेकपाको चेतावनी पछि विस्तार कार्यक्रम रोकिएको थियो । सपथका लागि मधेश भवन पुगि सकेका एमाले नेताहरुको सपथ रोकिएपछि मधेश सरकार भित्रको किचलो सतहमा आएको थियो ।
सत्ता गठबन्धनमा निर्णयक रहेको नेकपाले अर्थ मन्त्रालय नपाए सरकार बाटै फिर्ता हुने र नयाँ सरकार गठनको तयारीमा लाग्ने चेतावनी नै दिएको स्रोतले बताएका छन ।
नेकपा मधेश प्रदेशका एक सांसदले अर्थ मन्त्रालय आफुहरुको बटम लाइन रहेपनि सरकार संचालनको अन्य विषय समेत रहेको दावी गरेका छन । मन्त्रालय भागबण्डाको विषय बाहिर आएको मात्र हो , अरु विषय हरु पनि छन, जसमा हाम्रो विमति छ । सहमति नभए आजै सरकार बाट बाहिरिन सक्छौ , उनले भने ।
नेकपाका सांसदहरुले सरकार बाट बाहिरिने चेतावनी दिई रहेपनि नेपाली कांग्रेसका नेताहरुले समस्या छिटै समाधान हुने बताइ रहेका छन । मधेश प्रदेश सरकारको विषयमा देखिएको समस्या समाधानका लागि काठमाण्डौमा समेत छलफल भई रहेको स्रोतले बताएका छन ।
नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा बीच सत्ता साझेदारी सम्बन्धमा भएको सहमति विपरित नेकपा मधेश प्रदेशका सांसदहरुले सरकारबाट फिर्ता हुने दिएको चेतावनी सम्बन्धमा काँग्रेसका नेताहरु प्रचण्ड संग हिजै देखी छलफलमा रहेको बताइएको छ । प्रचण्डलाई फकाएर मधेश प्रदेशका सांसदहरु माथि दवाव बनाउने रणनीति अनुरुप काठमाण्डौमा छलफल भई रहेको कांग्रेसका एक नेताले बताएका छन ।






