काठमाडौं, जेठ १२ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित युरोपियन युनियन (ईयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका छन्।
सिंहदरबारमा जारी उक्त भेटमा प्रधानमन्त्री शाह र कूटनीतिक प्रतिनिधिहरूबीच नेपालका समसामयिक प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा आपसी सहकार्यका विविध विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी आदानप्रदान गर्नुका साथै ईयू सदस्य राष्ट्रहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित संवाद भइरहेको छ।
यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा अन्तरक्रिया गरेका थिए।
सरकारले पछिल्लो समय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, विकास साझेदारी र लगानी सहकार्यलाई प्राथमिकतामा राख्दै कूटनीतिक संवादलाई तीव्रता दिएको जनाएको छ।






