एजेन्सी, जेठ १२ । मध्यपूर्वमा जारी तनावबीच इरानले अमेरिकी सैन्य ड्रोन MQ-9 रीपर खसालिएको दाबी गरेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (IRGC) ले इरानी हवाई क्षेत्रमा प्रवेश गरेको भन्दै उक्त ड्रोनलाई निशाना बनाएर ध्वस्त पारिएको जनाएको हो।
इरानी सञ्चारमाध्यमका अनुसार इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईको नाममा जारी सन्देशमा अमेरिका र इजरायलविरुद्ध भूमि, समुद्र र हवाई मार्गबाट मिसाइल तथा ड्रोन आक्रमण गरिएको दाबी गरिएको छ। साथै, क्षेत्रीय मुलुकहरूलाई अमेरिकी सैन्य उपस्थितिको ‘ढाल’ नबन्न चेतावनी दिइएको उल्लेख छ।
सन्देशमा अमेरिका र इजरायलविरुद्ध कडा अभिव्यक्ति दिँदै मध्यपूर्वका देशहरूबीच रणनीतिक एकताको आवश्यकता औंल्याइएको छ। इरानले यसलाई क्षेत्रीय शक्ति सन्तुलन र नयाँ रणनीतिक व्यवस्थातर्फको कदमका रूपमा प्रस्तुत गरेको देखिएको छ।
उता, IRGC ले अमेरिकी MQ-9 रीपर ड्रोन इरानी हवाई क्षेत्रमा प्रवेश गरेपछि ‘शत्रु विमान’ का रूपमा पहिचान गरी तत्काल खसालिएको दाबी गरेको छ। इरानले युद्धविराम उल्लंघन वा आफ्नो सुरक्षामाथि खतरा देखिए प्रतिकार गर्ने अधिकार रहेको पनि जनाएको छ।
यस घटनाअघि अमेरिकी सेनाले इरानी रकेट प्रक्षेपण स्थलहरूमा ‘रक्षात्मक कारबाही’ गरेको घोषणा गरेको थियो। पछिल्ला घटनाक्रमसँगै मध्यपूर्वमा अमेरिका–इरान तनाव पुनः तीव्र बन्ने संकेत देखिएको छ।






