प्रधानमन्त्री संसदमा नआएसम्म सदन चल्न नदिने विपक्षीको अडान, प्रतिनिधिसभामा फेरि अवरोध



काठमाडौं, जेठ १२ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ नदिएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने अडान दोहोर्‍याएका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य तथा विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्नुअघि विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले बोल्न समय दिएपछि विभिन्न विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सदन अवरुद्ध गर्ने चेतावनी दिएका हुन्।

नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका जिज्ञासा र सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने बताइन्।

त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संवैधानिक र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने धारणा राखे।

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संविधान र कानुनको सम्मान गर्दै प्रधानमन्त्रीले केही समय भए पनि संसद्मा उपस्थित भएर धारणा राख्नुपर्ने बताए।

श्रम संस्कृति पार्टीका सांसद आरेन राइले संसद्को अभ्यासले भविष्यका लागि नजिर स्थापित गर्ने भएकाले प्रधानमन्त्री संसद्मा आएर सांसदका प्रश्नको उत्तर दिन तयार नभएसम्म विरोध जारी रहने चेतावनी दिए।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्रीको उपस्थितिका लागि सत्तारुढ दलले पहल गर्नुपर्ने बताउँदै जनप्रतिनिधिसँग संवाद नगर्नुको कारणबारे प्रश्न उठाइन्।

प्रकाशित मिति: २०८३ जेष्ठ १२, मंगलवार १४:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको