महोत्तरी, साउन १३ । बलवा नगरपालिकाको वडा नं. ९ र ११ को संयुक्त अधिकार क्षेत्रभित्र पर्ने रौजा बजार व्यवस्थापन कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। बलवा नगरपालिकाका मेयर राम विजय महतो, वडा नं. ९ का वडा अध्यक्ष सनिउल्ला शेख तथा वडा नं. ११ का वडा अध्यक्ष अशोक यादवबाट संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास सम्पन्न गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, युवा, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । करिब ३ करोड २५ लाख लागतमा निर्माण हुने यस बजार व्यवस्थापन आयोजना अन्तर्गत २ वटा पक्की व्यापारिक भवन, २ वटा बजार सेड, वर्षाको पानी निकासका लागि नाला निर्माण, पक्की सडक निर्माण, पदमार्गमा कङ्क्रिट ब्लक बिछ्याउने कार्य तथा सार्वजनिक शौचालय निर्माण लगायतका पूर्वाधार विकासका कार्यहरू सम्पन्न गरिनेछन्।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर महतोले रौजा बजारलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक बजारका रूपमा विकास गर्ने उद्देश्यले आयोजना कार्यान्वयनमा ल्याइएको बताए । उनले आयोजनाको निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको सौन्दर्य वृद्धि हुनुका साथै व्यापार–व्यवसाय विस्तार, स्थानीय आर्थिक गतिविधिमा वृद्धि, नागरिकलाई सहज तथा गुणस्तरीय सेवा प्रवाह र नगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
स्थानीयवासीहरूले समेत आयोजना समयमै सम्पन्न भई सञ्चालनमा आएपछि बजार व्यवस्थापन थप प्रभावकारी हुने, व्यापारिक गतिविधि विस्तार हुने तथा समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गरेका छन्।






