रोहितले बनाएको विरासतलाई थप उचाइमा पुर्‍याउनु मेरो जिम्मेवारी : सन्दीप



काठमाडौं, साउन २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त एकदिवसीय कप्तान सन्दीप लामिछानेले पूर्वकप्तान रोहित पौडेलले निर्माण गरेको विरासतलाई अझ उचाइमा पुर्‍याउनु आफ्नो जिम्मेवारी भएको बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयोजना गरेको राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा बोल्दै सन्दीपले कप्तानीमा परिवर्तन भए पनि टोलीको मुख्य उद्देश्य भने एउटै रहेको बताए। उनका अनुसार खेलाडीबीचको एकता र आपसी विश्वास नै नेपालको सबैभन्दा ठूलो शक्ति हो।

‘नेतृत्वमा परिवर्तन आए पनि हाम्रो साझा लक्ष्य नेपाललाई जिताउनु नै हो। रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्‍याउनु मेरो जिम्मेवारी हो,’ सन्दीपले भने।

उनले आगामी एसिसी प्रिमियर कपको उपाधि जितेर ट्रफी नेपाल ल्याउने लक्ष्य रहेको बताए। नेपाललाई विश्वकै बलियो एसोसिएट राष्ट्रका रूपमा स्थापित गर्न घरेलु मैदानसँगै विदेशी भूमिमा पनि उत्कृष्ट र सन्तुलित प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ।

सन्दीपले विगतका खेलमा भएका कमजोरीबाट पाठ सिकेर आगामी खेलमा सुधारिएको प्रदर्शन गर्ने प्रतिबद्धता जनाए। पछिल्ला केही विदेशी भ्रमण अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै उनले विपक्षी टोलीको राम्रो प्रदर्शनसँगै नेपाली टोलीका प्राविधिक कमजोरीका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए।

क्यानले केही दिनअघि रोहित पौडेललाई हटाएर सन्दीपलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेवारी दिएको थियो। टी–२० टोलीको नेतृत्व भने दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन्।

नयाँ नेतृत्वमा नेपाली टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रभावकारी प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्यसहित तयारी अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १६:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको