जनकपुरधाम, साउन ३० । महोत्तरी जिल्लाको बलवा नगरपालिका–२ बदियामा विद्यालय भवन तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ। बलवा नगरपालिका–२ स्थित श्री जनता माध्यमिक विद्यालय बदियामा निर्माण सम्पन्न भएको २ कोठे विद्यालय भवन र ३ कोठे सामुदायिक भवनको बलवा नगरपालिकाका मेयर रामविजय महतोले उद्घाटन गरेका हुन् ।
वडा नम्बर २ का वडाध्यक्ष शशिभूषण साहको अध्यक्षता तथा नगर प्रमुख रामविजय महतोको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। समारोहलाई सम्बोधन गर्दै मेयर रामविजय महतोले शिक्षा क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारसँगै पर्याप्त जनशक्ति आवश्यक रहेको बताए। उनले विद्यालयमा शिक्षकको अभाव बलवा नगरपालिकाको मात्र समस्या नभई देशभरकै विद्यालयले भोगिरहेको साझा समस्या भएको उल्लेख गरे।
मेयर महतोका अनुसार विद्यार्थीको संख्याको अनुपातमा विद्यालयहरूमा शिक्षकको संख्या पर्याप्त छैन। शिक्षक अभावका कारण विद्यालयको नियमित पठनपाठनमा समेत असर परेको उनले बताए। केन्द्र सरकारले करारमा कर्मचारी भर्ना गर्ने व्यवस्था गरे पनि आवश्यकताअनुसार शिक्षक व्यवस्थापन गर्न स्थानीय तहलाई कठिनाइ भइरहेको उनको भनाइ थियो। “शिक्षक तथा कर्मचारी भर्ना गर्न नदिने र आवश्यक जनशक्ति नपठाउने अवस्थाका कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित हुने गरेको छ,” मेयर महतोले भने।
उनले बलवा नगरपालिकाले शिक्षक अभाव समाधान गर्ने उद्देश्यले शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको जानकारी दिँदै आवेदन दिएका ३६ जनामध्ये १६ जना मात्र उत्तीर्ण भएको बताए। योग्य उम्मेदवारको संख्या कम हुनुमा नगरपालिकाको कुनै कमजोरी नरहेको दाबी गर्दै उनले प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य जनशक्ति छनोट गरिएको स्पष्ट पारे। मेयर महतोले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तह, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। उनले भौतिक पूर्वाधार निर्माणसँगै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले आवश्यक पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विद्यालयका शिक्षकहरूले विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको तर त्यसअनुसार शिक्षकको संख्या पर्याप्त नभएको गुनासो गरेका थिए। शिक्षक अभावका कारण कक्षाकोठामा पठनपाठन व्यवस्थापन गर्न समस्या भइरहेको उनीहरूले बताए। विद्यार्थीको चापअनुसार शिक्षक दरबन्दी तथा आवश्यक जनशक्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग उनीहरूले आग्रह गरेका छन्। नवनिर्मित विद्यालय भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, ३ कोठे सामुदायिक भवन स्थानीयस्तरमा विभिन्न सामाजिक, शैक्षिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न उपयोगी हुने विश्वास गरिएको छ।
उद्घाटन समारोहमा बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशकुमार महतो, शिक्षा शाखा प्रमुख राजकिशोर झा, महावीर यादव, स्थानीय विजय यादवलगायत जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। स्थानीय तहबाट निर्माण भएका यस्ता पूर्वाधारले विद्यालयको भौतिक अवस्था सुधार गर्नुका साथै समुदायका गतिविधिलाई समेत व्यवस्थित बनाउन सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ। विद्यालयमा आवश्यक शिक्षक व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारतर्फ पनि आगामी दिनमा थप ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।






