काठमाडौं, साउन ३१ । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, सडक भासिने तथा बाढीका कारण प्रमुख राजमार्ग सहित विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहान ५ बजेसम्म काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको हो।
सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्ड बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा हिलोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने त्यहाँ वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी–४ चारकिलो लिपिङमा सडक भासिँदा सडक पूर्ण रूपमा बन्द भएको छ। रसुवाको उत्तरगया–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पनि अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट–६ रिजेगार्ड खोला नजिक पहिरो खसेपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक, सङ्खुवासभाको भोटखोला–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ।
लमजुङको मस्र्याङ्दी–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक तथा मुस्ताङको थासाङ–४ कैकुखोलामा पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध छन्। रोल्पाको सुनिलस्मृति–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक र चितवनको इच्छाकामना–५ सिमलधारामा रूखसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि प्रभावित भएको छ।
वर्षा जारी रहेकाले पहिरो, बाढी र सडक भासिने जोखिम कायमै रहेको भन्दै प्रहरीले यात्रुअघि सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।






