काठमाडौं, साउन ३१ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँगको एकीकरणपछि नयाँ सांगठनिक संरचना सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव नेतृत्वको २७९ सदस्यीय केन्द्रीय कार्यसमितिमा शरतसिंह भण्डारीलाई सहअध्यक्ष तथा डा. सुरेन्द्रकुमार झा, लालबाबु राउत र प्रकाश अधिकारीलाई महासचिवको जिम्मेवारी दिइएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार एकीकृत पार्टीको संरक्षकमा महन्थ ठाकुरलाई चयन गरिएको छ भने रकम चेम्जोङलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको छ।
जसपा नेपालले विधानको धारा ८७ को उपधारा (२) अनुसार दुवै पार्टीका केन्द्रीय समितिलाई समायोजन गरी नयाँ केन्द्रीय समिति गठन गरेको जनाएको छ। नयाँ संरचनालाई समावेशी बनाउने क्रममा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत र युवाको प्रतिनिधित्व ४० प्रतिशत कायम गरिएको पार्टीको दाबी छ।
पार्टीको नीति निर्माण तथा सांगठनिक सञ्चालनमा सहयोग पुर्याउन सात जनालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जीतेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव रहेका छन्।
त्यस्तै, महासचिवलाई सांगठनिक काममा सहयोग गर्न जैनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी सिटौलालाई उपमहासचिवको जिम्मेवारी दिइएको छ।
पार्टी सचिवमा अर्जुन थापा, उमेश यादव, अनिलकुमार सिंह, उपेन्द्र महतो, कमरुद्दीन राई, मिना चौधरी, रामप्रवेश बैठा, लाक्पा शेर्पा, शैलेन्द्रप्रसाद साह, सुनी लामा र सुरेश मण्डल चयन भएका छन्।
कोष व्यवस्थापनको जिम्मेवारी सुरिताकुमारी साहलाई कोषाध्यक्षका रूपमा दिइएको छ।
मुख्य पदाधिकारीबाहेक पार्टीले २९ सदस्यीय कार्यकारिणी समिति पनि गठन गरेको छ। कार्यकारिणी समितिमा अशेश्वर यादव, अम्बिका काफ्ले, अनिरुद्वप्रसाद सिंह यादव, अमरकान्त झासहितका नेताहरू रहेका छन्।
त्यसैगरी, २१७ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यमा अञ्जना शेर्पा, अरविन्द दास, अरुण सिंह मण्डल धानुकलगायतका नेताहरू समेटिएका छन्।
पार्टीले मुख्य पदाधिकारीहरूको वरियताक्रम विधानको धारा १३० अनुसार निर्धारण गरिएको जनाएको छ। अन्य सदस्यहरूको नाम भने वर्णानुक्रमअनुसार राखिएको विज्ञप्तिमा उल्लेख छ।
जसपा नेपालले नयाँ केन्द्रीय कार्यसमितिमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व सुनिश्चित गरिएको जनाएको छ। पार्टी एकीकरणपछि सार्वजनिक गरिएको नयाँ संरचनालाई संगठनात्मक एकीकरणलाई औपचारिकता दिने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




















