बीएलएको दाबी : बलुचिस्तानमा ७ दिनमा २२ ठाउँमा हमला, २६ पाकिस्तानी सुरक्षाकर्मी मारिए



एजेन्सी, भदौ ३ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा सक्रिय सशस्त्र संगठन बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले सात दिनको अवधिमा २२ स्थानमा आक्रमण गरेको र त्यस क्रममा २६ जना पाकिस्तानी सैनिक तथा सुरक्षाकर्मी मारिएको दाबी गरेको छ।

बीएलएले अगस्ट ९ देखि १५ सम्म सञ्चालन गरेको भनिएको अभियानमा पाकिस्तानी सेना, सरकारी सुरक्षा निकाय, प्रहरी, सरकारसमर्थक सशस्त्र समूह तथा सुरक्षा प्रतिष्ठानलाई लक्षित गरिएको जनाएको छ। संगठनका अनुसार आक्रमणमा केही सुरक्षाकर्मी घाइतेसमेत भएका छन्।

बीएलएका प्रवक्ता जियान्द बलुचका अनुसार अभियानका क्रममा सुरक्षा चौकी, सुरक्षा निकायका संरचना, सरकारी प्रतिष्ठान र व्यापारिक सवारीसाधनसमेत निशानामा परेका थिए।

संगठनले अगस्ट ९ मा चगाई क्षेत्रमा क्वेटा–ताफ्तान सडकखण्डमा तीनवटा व्यापारिक सवारीसाधन नियन्त्रणमा लिएको दाबी गरेको छ। त्यस्तै, प्रहरीको ‘इगल स्क्वाड’ का केही सदस्यलाई नियन्त्रणमा लिएर उनीहरूका हतियार तथा उपकरण कब्जामा लिइएको बीएलएको भनाइ छ।

अगस्ट १२ मा कलातको रोदेंजो नजिक पाकिस्तानी सेनाको काफिलामाथि विस्फोटक उपकरणमार्फत आक्रमण गरिएको बीएलएले जनाएको छ। उक्त घटनामा १७ सैनिक मारिएको, सात जना घाइते भएको र दुईवटा सैन्य सवारीसाधन क्षतिग्रस्त भएको संगठनको दाबी छ।

बीएलएका अनुसार त्यसबाहेक अभियानका अन्य दिनमा पनि बलुचिस्तानका विभिन्न क्षेत्रमा सरकारी सुरक्षा बल तथा अन्य संरचनामाथि आक्रमण गरिएको थियो।

बलुचिस्तानमा लामो समयदेखि पाकिस्तानी सुरक्षा निकाय र बलुच विद्रोही समूहबीच सशस्त्र द्वन्द्व जारी छ। बीएलएले बलुचिस्तानलाई पाकिस्तानबाट अलग गरी स्वतन्त्र राज्य स्थापना गर्नुपर्ने माग गर्दै आएको छ।

यसैबीच, बीएलएले सार्वजनिक गरेको पछिल्लो दाबीबारे पाकिस्तान सरकार वा सुरक्षा निकायले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। त्यसैले संगठनले दाबी गरेको सुरक्षाकर्मीको मृत्यु तथा अन्य क्षतिको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार ०७:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको