आज नौवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, भदौ ४ । संघीय संसद्अन्तर्गतका नौवटा संसदीय समितिको बैठक आज बिहीबार बस्दैछ। प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएकाले आज विभिन्न समितिका बैठक एकैदिन बस्न लागेका हुन्।

बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्राप्त उजुरीका विषयमा छलफल हुनेछ। सोही समयमा कृषि तथा प्राकृतिक स्रोत समितिले जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्थाबारे उत्पादकसँग छलफल गर्नेछ।

पूर्वाधार विकास समितिमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती ब्युटिफिकेसन आयोजनाबारे छलफल हुनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथि छलफल गर्ने कार्यसूची छ।

सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणसम्बन्धी विषयमा छलफल गर्नेछ।

बिहान ११ बजे अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’ का विषयमा होटल एसोसिएसन नेपाललगायत सरोकारवालासँग छलफल गर्नेछ।

राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलगायत विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्नेछ।

यस्तै, अपराह्न १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायिकी अन्तरसम्बन्धबारे गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष र कार्यकारी निर्देशकसँग छलफल हुनेछ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार ०७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको