राजविराज, भदौ ४ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा आयोजित निःशुल्क आँखा शिविरमा २९१ जनाले आँखाको परीक्षण गराएका छन्। बुधबार आयोजना गरिएको शिविरमा परीक्षण गराएकामध्ये ९५ जनामा मोतियाबिन्दु फेला परेको छ।
धर्मी हल्फा महिला विकास क्लब सप्तरीको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। अस्पतालका सात जना नेत्र स्वास्थ्यकर्मी तथा चिकित्सकको टोलीले शिविरमा सेवा दिएको थियो।
क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवका अनुसार परीक्षणका क्रममा मोतियाबिन्दु पहिचान भएका बिरामीको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क उपचार तथा शल्यक्रियाको व्यवस्था गरिएको छ।
शिविरको उद्घाटन सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले गरेका थिए। उद्घाटन कार्यक्रममा उनले स्थानीयस्तरमा सञ्चालन हुने स्वास्थ्य शिविरले आर्थिक रूपमा कमजोर तथा विपन्न नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने बताए।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी यस्ता शिविर नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रुपक खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणका गणपति प्रहरी उपरीक्षक नवीनसिंह राई, छिन्नमस्ता गाउँपालिका–३ का वडाध्यक्ष विजयकुमार यादव तथा वडा नम्बर १ का वडाध्यक्ष ललनप्रसाद यादवलगायतको उपस्थिति थियो।






