काठमाडौं , भदौ ५। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा महामन्त्री विपीनकुमार आचार्यले बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बोलाएका हुन् ।
आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा पार्टीको संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका विभिन्न एजेण्डा तय गरिएको रास्वपाले जनाएको छ ।
बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी ‘रूपरेखा–२०८३’ अनुमोदन गर्ने प्रस्ताव प्रमुख एजेण्डाका रूपमा रहेको छ । निर्वाचनमा उम्मेदवार चयन गर्दा अपनाइने विधि, प्रक्रिया तथा मापदण्डलाई बैठकबाट अन्तिम रूप दिने तयारी छ ।
यस्तै, रास्वपाले स्थापनाकालदेखि उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने अधिकारसम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा पनि छलफल गर्ने भएको छ । उक्त अवधारणालाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
बैठकले पार्टीमा रिक्त रहेका तथा थप गर्नुपर्ने विभिन्न सांगठनिक पदमा मनोनयन गर्ने तयारीसमेत गरेको छ । यसअन्तर्गत केन्द्रीय समिति सदस्य तथा पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन र विभिन्न विभागका प्रमुखको जिम्मेवारी बाँडफाँट गर्ने विषय एजेण्डामा छन् ।
स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयन गर्ने प्रस्ताव पनि बैठकमा पेस हुनेछ ।
यसैगरी, स्थानीय तहमा उम्मेदवार छनोटको प्रक्रिया र विधिबारे पार्टीका नेता–कार्यकर्तालाई जानकारी गराउन देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत बैठकमा छलफल हुनेछ । केन्द्रीय सदस्य तथा सांसदहरूको नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गर्ने रास्वपाको तयारी छ ।
पार्टीका आधिकारिक धारणा, गतिविधि तथा राजनीतिक विषय सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि बैठकबाट हुने बताइएको छ ।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, उम्मेदवार छनोट र पार्टीको आन्तरिक संरचनालाई थप व्यवस्थित बनाउने रणनीतिअनुसार बैठकका एजेण्डा तय गरेको हो ।






