जनकपुरधाम, भदौ ५। जापानिज इन्सेफ्लाइटिसका कारण सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ । सप्तरीमा दुई तथा कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो ।
सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवले जानकारी दिए ।
उनीहरू दुवैको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो । यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तथा रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट तीन जना संक्रमित भएका थिए । उनीहरूमध्ये दुई जनाको मृत्यु भएको र उपचारपछि एक जना घर फर्किसकेको स्वास्थ्य अधिकृत यादवले बताए ।
उनले लामखुट्टेको टोकाइबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । साँझपख अनावश्यक रूपमा घरबाहिर ननिस्कने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका कपडा लगाउने र राति सुत्दा झुल प्रयोग गर्ने जस्ता उपाय अपनाउन उनले सुझाव दिएका छन् ।
यता, कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापानिज इन्सेफ्लाइटिसबाट दुई जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ र ९ का ३४ र ७० वर्षीया दुई महिलाको उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार घोडाघोडी क्षेत्रमा पछिल्ला तीन वर्षयता जापानिज इन्सेफ्लाइटिसका संक्रमित भेटिन थालेका हुन् । अघिल्लो आर्थिक वर्षमा वडा नम्बर ४ का एक जनामा संक्रमण देखिए पनि उपचारपछि उनी निको भएका थिए । आर्थिक वर्ष २०८१र८२ मा वडा नम्बर ५ र ६ का दुई जनामा संक्रमण देखिएको थियो ।
यस वर्ष भने संक्रमणका कारण दुई जनाको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । संक्रमित सुँगुर वा बङ्गुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा भाइरस सर्न सक्ने भएकाले लामखुट्टेको टोकाइबाट जोगिनु र घरवरिपरि सरसफाइमा ध्यान दिनु आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
संक्रमण देखिएपछि घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले आकस्मिक बैठक बोलाएर रोगको अवस्था र रोकथामका उपायबारे छलफल गरेको छ । नगरपालिकाका १३ वटै स्वास्थ्य संस्थामार्फत समुदायस्तरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम, लक्षण र रोकथामका उपायबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
यसका लागि नगरपालिकाभित्रका ८४ वटा आमा समूहलाई समेत परिचालन गरी रोगका लक्षण, बच्ने उपाय तथा समयमै स्वास्थ्य संस्थामा पुग्नुपर्ने विषयमा जानकारी गराइनेछ ।
स्वास्थ्यकर्मीका अनुसार अत्यधिक ज्वरो आउने, बेहोस हुनेलगायतका लक्षण देखिएमा बिरामीलाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ । लामखुट्टेको टोकाइबाट जोगिन झुल प्रयोग गर्ने, घरवरिपरि पानी जम्न नदिने र सरसफाइमा विशेष ध्यान दिनसमेत आग्रह गरिएको छ ।






